वालिङ नगरपालिकाले साहसिक पर्यटन प्रवर्धन साथै अन्तर्राष्ट्रिय माउण्टेन बाइकिङ प्रतियोगिताका सञ्चालनको लागि माउण्टेन बाइकिङ ट्रयाकको सम्भाव्यता अध्ययन गरेको छ । काठमाण्डौबाट आएका माउण्टेन बाइकर्सहरुद्वारा सम्भाव्यता अध्ययन गरिएको हो । तीन चरणमा सम्पन्न सम्भाव्यता अध्ययन पहिलो चरणमा केवरे भन्ज्याङ, बनकट्टा, गह्रौंसुर, बझाकोट, दाङसिङ दोस्रो चरण बायाँटारी, उदियाचौर, सिर्सेकोट, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक मैदान र तेस्रो चरणमा त्रियासी, माझकोट, बस्यानी, जगतभञ्ज्याङ, मिर्दी सम्म साईकल कुदाएरै पुरा गरिएको छ । अध्ययन टोलीमा सुदीप पौडेल, देबेन्द्र बस्नेत, राजन राजभण्डरी, कृष्णगोपाल श्रेष्ठ, एलेन राना, दिनकर नेपाल, अशिष खाँण लगायत छन् । अध्ययन टोली संयोजक सुदीप पौडेलले वालिङ नगरपालिका माउण्टेन बाइकिङका लागि दक्षिण एसियामै उत्कृष्ट गन्तव्य भएकोले नगरपालिकाले खेलकुदमा लगानी गर्न डराउन नहुने बताउनुभयो । नगरपालिकाभित्र माउण्टेन बाइकिङ सम्भाव्यता अध्ययन गरी डिपिआर (DPR) तयार गर्ने र छिट्टै नै अन्तराष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गरिने नगर प्रमुख दिलिप प्रताप खाँण बताउनुभयो । उहाँले वालिङ नगरपालिका अधिकांश ग्रामिण भेक मिलेर बनेकोले यहाँ प्याराग्लाइडिङ, माउण्टेन बाइकिङ, क्यानोइङ, रक क्लाइम्बिङ जस्ता थुप्रै साहसिक खेलहरुको सम्भावना रहेको समेत बताउनुभयो । अन्य विकास निर्माणको कामहरु जस्तै खेलकुदको विकास र प्रवर्धनका लागि प्याराग्लाइङि, माउण्टेन बाइकिङ, क्यानोइङ, रक क्लाइम्बिङसँगै भलिबल, फूटबल र क्रिकेटलाई पनि नगरपालिकाले उच्च प्राथमिकता राखेको उहाँको भनाई छ ।
अन्य योजनाहरुमा
राजमार्गको स्तरोन्नतिसँगै एक छेउमा पैदालयात्रीका लागि र अर्को छेउ साइकलको लागि अनिवार्य रुपमा ट्रयाक निर्माण ।
ऐतिहासिक महत्व बोकेको आँधीखोलाको किनारमा दुईतर्फ १२ प्रजातिका बाँस रोप्ने साथै साइकलका लागि ट्रयाक निर्माण ।
नगरपालिकाको १४ वडा भित्र माकुरो जालो आकारमा माउण्टेन बाइकिङ ट्रयाक बनाउने परिकल्पना ।
साहसिक खेलकुद,साँस्कृतिक र एग्रीकल्चरल होमस्टे सम्बन्धी अन्य योजनाहरुलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने ।