यस वालिङ नगरपालिकाद्धारा मिति २०७६ बैशाख २० र २१ गते सञ्चालन गरिएको “ स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तालिम ” नगरपालिकाका नगर प्रमुख श्री दिलिप प्रताप खाँण ज्यूको अध्यक्षता र प्रमुख सहजकर्ता सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार तथा प्रशासकीय अदालतका अध्यक्ष श्री काशीराज दाहाल ज्यू समेतको सहजीकरणमा कार्यपालिकाका पदाधिकारीहरु तथा शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु (६३ जना) को उपस्थितिमा व्यापक छलफल गरी तपशिल बमोजिमको निर्णय गरियो ।
तालिम कार्यक्रमका सहजकर्ताहरु
- प्रमुख प्रशिक्षक सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार तथा प्रशासकीय अदालत अध्यक्ष श्री काशीराज दाहाल
- योगा विद श्री डा. राजु अधिकारी
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव श्री विष्णुदत्त गौतम
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव श्री प्रह्लाद कुमार कार्की
- कोष तथा लेखा नियन्त्रक कार्यालय, स्याङ्जाका प्रमुख ।
निर्णय नं. १
वालिङ नगरपालिकाद्धारा Smart Waling को योजना ( 4 Pillars, 30 Components and 106 Indicators) भित्र रहेर आवधिक योजना र Comprehensive Planning बनाई लागू गर्ने निर्णय गरियो ।
निर्णय नं. २
संघीय ऐन, प्रादेशिक ऐन र नगरपालिकाको ऐनहरुलाई अक्षरस पालना गरी नगरपालिकाद्धारा निर्मित नियमावली, कार्यविधि र निर्देशिकालाई अक्षरस कार्यान्वयन गरिनेछ ।
निर्णय नं. ३
स्थानीय जनताको चाहना, आकांक्षा र आवश्यकता अनुसार संविधानको लक्षित उद्देश्य पुरा हुने गरी स्थानीय तह भित्रको समग्र विकासको निम्ति आवश्यक गुरुयोजना बनाई त्यसलाई प्रभावकारी रुपमा लागू गर्ने गराउने ।
निर्णय नं. ४
वालिङ नगरपालिकाले वार्षिक बजेट र योजना बनाउँदा स्थानीय बासिन्दाको आवश्यकतालाई बढी जोड दिई उत्पादनमूलक र रोजगारमूलक कार्यमा बढी बजेट बिनियोजन गरी त्यस क्षेत्रमा लगानी गर्ने, नागरिकको आर्थिक, सामाजिक हकलाई कार्यान्वयन गर्न गराउन सोही अनुरुपको कार्ययोजना बनाई लागू गर्ने गराउनेछ ।
निर्णय नं. ५
वालिङ नगरपालिकाभित्र पर्यटन क्षेत्रको विकासको निम्ति आवश्यक पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्धन गर्ने ।
निर्णय नं. ६
वालिङ नगरपालिका अन्तरगतका ताल तलैया, पोखरी र धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण सम्बर्द्धन गर्ने गराउने ।
निर्णय नं. ७
प्रत्येक वडामा पार्क निर्माण, वृक्षारोपण, फोहरको उचित व्यवस्थापन वातावरणमैत्री हरियाली वातावरण, खेलकुदका निम्ति मनोरञ्जन स्थल निर्माण गर्ने, बालमैत्री वातावरण तयार गर्ने जस्ता कार्यहरु गर्ने गराउने ।
निर्णय नं. ८
सबै वडाहरुलाई जोड्ने गरी सडक सञ्जाल निर्माण गरी जनतालाई सहजरुपमा यातायात सुविधाको व्यवस्था गर्ने ।
निर्णय नं. ९
सबैका निम्ति खानेपानीको व्यवस्थापन साथै सिंचाईको उचित प्रबन्ध गर्ने गराउने,
निर्णय नं. १०
उन्नत कृषि र आधुनिक तवरले पशुपालनको विकास गर्ने गराउने,
निर्णय नं. ११
हाट बजारहरुलाई व्यवस्थित गर्ने, मेलाहरुको उचित व्यवस्थापन गर्ने गराउने ।
निर्णय नं. १२
नागरिकहरुमा कर्तव्यबोध गराउनको लागि नागरिक शिक्षा विद्यालयस्तरमा लागू गर्ने गराउने ।
निर्णय नं. १३
प्रत्येक वडाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक, सरकारी, सामुदायिक सम्पत्तिहरुको लगत दुरुस्त रुपमा राखी त्यसको संरक्षण, संबर्द्धन गर्ने र स्थानीय कार्यपालिकाले व्यवस्थित रुपमा त्यसको संरक्षण र प्रवर्धन गर्ने गराउने ।
निर्णय नं. १४
वालिङ नगरपालिकाले आफ्नो काम कारवाहीलाई लोकतान्त्रिक विधि र कानुनी शासनको सिद्धान्त बमोजिम गर्ने गराउने ।
निर्णय नं. १५
वालिङ नगरपालिकाको स्थानीय सरकार र त्यस अन्तरगतका ईकाईहरुले अधिकारको दुरुपयोग नगरी आर्थिक अनुशासन कायम गर्ने गराउने।
निर्णय नं. १६
स्थानीय स्तरमा सुशासन प्रवर्द्धन गर्न सोही अनुरुप पारदर्शी र जवाफदेही प्रणाली अपनाई भष्ट्राचार र अनियमितताको रोकथाम र नियन्त्रण गरी सुशासन कायम गर्ने ।
निर्णय नं. १७
वालिङ नगरपालिकाले सेवाग्राही प्रतिको व्यवहारमा समानता, समन्याय, सदभाव र एकताको सम्बन्ध विकास गर्ने ।
निर्णय नं. १८
न्यायिक समितिले बढी भन्दा बढी मेलमिलापको प्रक्रियाद्धारा समाधान गर्ने गराउने ।
निर्णय नं. १९
स्थानीय सरकारले सामाजिक सुरक्षा र सामाजिक न्यायका सिद्धान्तहरुलाई व्यवहारमा लागू गरी जनताका पक्षमा हितकारी कार्य गरी सुविधा प्रदान गर्ने ।
निर्णय नं. २०
उपभोक्ताको अधिकार संरक्षण गर्ने, सामाजिक अपराध र दुर्व्यसनीको रोकथाम नियन्त्रण गर्ने ।
निर्णय नं. २१
स्थानीय सरकारले स्थानीय तहलाई नमुनाको रुपमा विकास गर्ने सोही अनुरुपको कार्ययोजना बनाई स्मार्ट नगरको रुपमा विकास गर्ने गराउने ।
निर्णय नं. २२
यस वालिङ नगरपालिकाका नगरबासीहरुलाई स्वस्थ राख्नको लागि योग शिविर र प्रशंसनीय दृष्टिकोण जस्ता तालिम कार्यक्रम गर्ने गराउने ।
निर्णय नं. २३
कानुनले अधिकार तोकेको बुँदाहरु राखी सानो बुक तयार गरी २०७६/०२/१५ गते भित्र वडा अध्यक्षहरुलाई उपलब्ध गराउने ।
निर्णय नं. २४
वडा अध्यक्षले गर्ने सिफारिसहरुमा सत्य तथ्य बुझी सिफारिस गर्ने ।
निर्णय नं. २५
यस नगरपालिकाभित्र व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई पूर्ण रुपमा करको दायरामा ल्याउने प्रयत्न गर्ने ।
निर्णय नं. २६
सार्वजनिक जग्गा तथा सरकारी जग्गामा बनेका घरहरुलाई बहाल विटौरी शुल्क पूर्ण रुपमा लगाउने ।