प्रेस विज्ञप्ति
( ६ बैशाख, २०७६)
नेपाल सरकार एवम् विभिन्न सरकारी निकायहरुलाई विद्युत्तीय माध्यमबाट बैंक खाता मार्फत् भुक्तानी कारोबार गराउने प्रतिबद्धता संगै, गण्डकी प्रदेश अन्तर्गतको वालिङ नगरपालिकाको विभिन्न भुक्तानी लिने तथा दिने कारोबारहरु पनि अब नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विद्युत्तीय भुक्तानी प्रणालीहरु मार्फत् अनलाईनबाट गराउने भएको छ । यसै सन्दर्भमा आज वालिङ नगरपालिका र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच सम्झौता भएको छ र सम्झौता पत्रमा वालिङ नगरपालिकाका तर्फबाट नगरप्रमुख श्री दिलिप प्रताप खाँडज्यू एवम् नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान ज्यूले हस्ताक्षर गर्नुभएको छ।
उक्त सम्झौता अनुसार वालिङ नगरपालिकाको मातहतमा हुने सम्पूर्ण भुक्तानी कारोबारहरु, विद्युतीय माध्यमबाट सहज तरिकाले गराउन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आवश्यक सहकार्य एवम् संचालन गर्दै आएका विभिन्न विद्युत्तीय भुक्तानी प्रणालीहरु उपलब्ध गराउने छ ।नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्वित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connectIPs\ e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ । connectIPs मार्फत अनलाईन फण्ड ट्रान्सफर, नेपाल सरकारको राजस्व भुक्तानी, सेयर ब्रोकरको भुक्तानी, क्रेडिट कार्डको भुक्तानी, मोबाईल वालेट लगायतका विभिन्न कारोबारहरु गर्न सकिन्छ ।थप जानकारीका लागि www.nchl.com.np हेर्न सकिन्छ ।