वालिङ, १२ चैत ।
आवधिक नगर उद्यम विकास रणनीतिक योजना सम्बन्धी एकदिने गोष्ठी मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति, स्याङ्जाको सहयोग तथा वालिङ नगरपालिका एवम् संगम तालिम तथा परामर्श केन्द्र, म्याग्दीको आयोजना उक्त गोष्ठी सम्पन्न भएको हो ।
वालिङ नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठीमा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङ नगरपालिकाका प्रत्येक वडामा उद्यमशिलतालाई बढाउँदै लगिने बताउनुभयो । “वालिङमा नयाँ नयाँ उद्योगहरु स्थापना एवम् नयाँ नयाँ उद्यमीहरुको विकासमा सहयोग गर्नेछौं” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँ भैरहेका उद्योग तथा उद्यमीहरुलाई थप प्रोत्साहन पुग्ने गरी योजना बनाउँछौं ।”
गोष्ठीमा उद्यम विकास योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरु, एकीकृत उद्यम विकास मोडल लगायतका विषयहरुमा छलफल एवम् अन्तरक्रिया भएको थियो । नगरपालिका योजनाबद्धरुपले लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने बताउँदै सबै वडालाई नगरको उद्यम विकासका लागि हातेमालो गर्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।